चितवन । चितवनको माडीस्थित डाग्रे खोलामा आउने बाढीले दशकौंदेखि स्थानीयको खेती र जनजीवनमा ठूलो क्षति पुर्याउँदै आएको छ। २०५९ सालको भदौमा आएको बाढीले गर्दी–१ की हिरामती चौधरीको खेतमा लहलहाएको धान मात्र होइन, घरको भकारीमा राखेको अन्नसमेत बगाएको थियो। त्यसको केही समयमै असोजमा आएको अर्को बाढीले काटेर सुकाउन राखेको धानसमेत नष्ट गर्यो।
डाग्रे खोलाको बाढी र रिउ खोलाको कटानका कारण माडीका थारु समुदायका धेरै परिवार वर्षौंदेखि खेतीमा जोखिम मोल्दै आएका छन्। स्थानीयका अनुसार २०३१ सालदेखि पटक–पटक आएको ठूलो बाढीले जनधन तथा खेतीयोग्य जमिनमा क्षति पुर्याउँदै आएको छ। २०३१ सालको बाढीमा ६ जनाको मृत्यु भएको थियो भने २०६८ सालको बाढीमा थप दुई जनाले ज्यान गुमाएका थिए।
गर्दी–१ की धनरजीया चौधरीका अनुसार सामान्य देखिने डाग्रे खोला केही समयमै उर्लिएर तर्नै नसक्ने अवस्थामा पुग्छ। मौसममा आएको परिवर्तनका कारण भदौ–असोजमा समेत कुन बेला बाढी आउने हो भन्ने निश्चित नहुँदा स्थानीय थप चिन्तित छन्।
बाढीले धान, मकैलगायतका बाली नष्ट गर्ने मात्र होइन, रिउ र डाग्रे खोलाको धार परिवर्तन हुँदा सयौँ बिघा खेतीयोग्य जमिन डुबान तथा कटानमा पर्ने गरेको स्थानीय बताउँछन्। यही जोखिमका कारण विगतमा पाण्डवनगर, कुन्तीपुर र द्रोपतीनगरका करिब डेढ सय घरधुरीलाई बाँके र बर्दियातर्फ स्थानान्तरणसमेत गरिएको थियो।
तर, निरन्तरको विपत्तिबीच माडीका महिलाहरूले भने प्राकृतिक स्रोतलाई आम्दानीको माध्यम बनाउने नयाँ बाटो रोजेका छन्। नदी किनारमा उम्रने काँस, बाबियो, पटेरो र थाकलबाट हस्तकलाका सामग्री उत्पादन गर्दै उनीहरू आत्मनिर्भर बन्न थालेका छन्।
गर्दीमा २०७५ सालमा स्थापना भएको माडी थारु महिला कृषक समूहमा ४८ जना महिला आबद्ध छन्। समूहले ढकिया, फूलदानी, हटकेस, मोहनी, थरिया, किस्ती, चिया तथा कफी ट्रे, गुन्द्रीलगायत दैनिक प्रयोग र सजावटका सामग्री उत्पादन गर्दै आएको छ।
समूहकी अध्यक्ष हिरामती चौधरीका अनुसार पहिले सानातिना खर्चका लागि समेत परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने अवस्था थियो। अहिले भने आफ्नै आम्दानी हुन थालेपछि परिवारलाई आर्थिक सहयोग गर्न सक्ने अवस्था बनेको छ।
उत्पादन बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत समूहको कोषमा जम्मा गर्ने गरिएको छ। उक्त रकम कच्चा पदार्थ खरिद तथा आपतकालीन सहयोगमा प्रयोग हुने गरेको समूहले जनाएको छ।
समूहमा आबद्ध महिलाहरूका लागि हस्तकला उत्पादन आम्दानीको माध्यम मात्र नभई आत्मविश्वास बढाउने आधारसमेत बनेको छ। पहिले खुलेर बोल्नसमेत हिच्किचाउने महिलाहरू अहिले समूहमा सक्रिय हुँदै आफ्नै पहिचान बनाउन सफल भएका छन्।
समूहले उत्पादन गरेका सामग्री माडीमा हुने विभिन्न कार्यक्रम तथा मेलामा बिक्री गर्दै आएको छ। साथै काठमाडौं, नवलपरासी, मकवानपुरलगायत जिल्लामा समेत सामग्री पठाउने गरिएको छ। वैदेशिक रोजगारीमा जानेहरूले पनि यस्ता सामग्री विदेश लैजाने गरेका छन् भने माडीका होमस्टे तथा कृषि फार्मबाट समेत नियमित माग आउने गरेको समूहले जनाएको छ।
स्थानीय सरकारले पनि मेला, प्रदर्शनी तथा नगरपालिकाका विभिन्न कार्यक्रममा बिक्री कक्ष उपलब्ध गराउँदै आएको वडा अध्यक्ष अमित लामाले बताए। आगामी दिनमा बजार विस्तारका लागि थप सहकार्य गर्ने तयारी भइरहेको उनको भनाइ छ।
कुनै समय बाढीले बगाएर ल्याएको बेकारको घाँस मानिने काँस अहिले माडीका थारु महिलाको आम्दानी र आत्मनिर्भरताको आधार बनेको छ। बाढीले खेत खोसे पनि त्यही बाढीको किनारमा उम्रिएको काँसले उनीहरूलाई नयाँ सीप, आम्दानी र भविष्यप्रतिको आशा दिएको छ।