भीआरबाट ड्राइभिङ तालिम, एआईले निगरानी गर्ने ट्राफिक नियम
भीआरबाट ड्राइभिङ तालिमदेखि एआई ट्राफिक निगरानीसम्म, नयाँ यातायात नीतिमा प्रविधिलाई प्राथमिकता
काठमाडौं । सरकारले सडक यातायातलाई सुरक्षित, डिजिटल र प्रविधिमैत्री बनाउने लक्ष्यसहित राष्ट्रिय यातायात नीति, २०८३ स्वीकृत गरेको छ । नयाँ नीतिले चालक तालिमदेखि ट्राफिक नियम कार्यान्वयनसम्म आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ ।
नीतिअनुसार नयाँ चालकलाई वास्तविक सडकमा उतार्नुअघि भर्चुअल रियालिटी (भीआर) र ड्राइभिङ सिमुलेटर मार्फत अभ्यास गराइनेछ । दुर्घटनाका वास्तविक भिडियो तथा वैज्ञानिक विश्लेषण प्रयोग गरी चालक र सर्वसाधारणलाई सडक सुरक्षाबारे सचेत गराउने योजना पनि अघि सारिएको छ ।
त्यस्तै, चालकको ट्राफिक नियम उल्लङ्घन तथा सुरक्षित ड्राइभिङको विवरण डिजिटल प्रणालीमा अभिलेख राखिनेछ । स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीमार्फत चालकको व्यवहार ट्र्याक गरी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही र सुरक्षित चालकलाई प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ ।
सडक सुरक्षाका लागि स्पिड क्यामेरा, स्वचालित इन्फोर्समेन्ट प्रणाली र इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम (ITS) विस्तार गरिने भएको छ । तीव्र गति, रेडलाइट उल्लङ्घन, ओभरलोडिङ, हेल्मेट तथा सिटबेल्ट प्रयोग र मापसेजस्ता गतिविधिमाथि प्रविधिको प्रयोगबाट निगरानी बढाइनेछ ।
नीतिले मुख्य राजमार्गमा डिजिटल टोल प्रणाली परीक्षण गर्ने, सवारी दर्ता, रुट परमिट र लाइसेन्स प्रणालीलाई एकीकृत गरी कागजरहित सेवा विस्तार गर्ने लक्ष्यसमेत राखेको छ ।
विद्युतीय सवारीको बढ्दो प्रयोगलाई ध्यान दिँदै ईभी ब्याट्रीको पुनःप्रयोग, रिसाइकल र सुरक्षित विसर्जनका लागि ‘सेकेन्ड–लाइफ’ फ्रेमवर्क बनाउने योजना पनि नीतिमा समेटिएको छ ।
यसैगरी, सार्वजनिक यातायातसम्बन्धी डेटा खुला गर्ने र सार्वजनिक एपीआई उपलब्ध गराउने व्यवस्था गरिनेछ, जसबाट नेपाली स्टार्टअप तथा डेभलपरहरूले लाइभ ट्र्याकिङ, रुट प्लानिङलगायत डिजिटल सेवा विकास गर्न सक्नेछन् ।
सरकारले नयाँ नीतिमार्फत पुरानो राष्ट्रिय यातायात नीति, २०५८ खारेज गरेको जनाएको छ । नयाँ व्यवस्थाले आगामी दिनमा नेपालमा सडक सुरक्षा, चालक तालिम र यातायात सेवामा प्रविधिको प्रयोगलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ ।