भारतमा १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन अदालतमा याचिका
भारतमा १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउन अदालतमा याचिका
काठमाडौं । भारतमा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा सार्वजनिक सरोकारको याचिका दायर गरिएको छ।
याचिकामा बालबालिकालाई हानिकारक अनलाइन सामग्री, साइबर बुलिङ तथा डिजिटल लतबाट जोगाउन कडा कानुनी व्यवस्था गर्न माग गरिएको छ।
याचिकाकर्ताले १३ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँच रोक्न, १३ देखि १६ वर्ष उमेर समूहका लागि विशेष सामग्री नियमन गर्न, बलियो उमेर प्रमाणीकरण प्रणाली लागू गर्न र अभिभावकको सहमति अनिवार्य बनाउन माग गरेका छन्।
याचिकामा बालबालिका उमेरअनुसार अनुपयुक्त सामग्री र लत लगाउने प्लेटफर्म डिजाइनका कारण मानसिक, भावनात्मक तथा शारीरिक रूपमा प्रभावित भइरहेको दाबी गरिएको छ।
भारतमा बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको याचिकामा उल्लेख छ। साथै, सामाजिक सञ्जाल कम्पनीलाई बालबालिकाको सुरक्षाप्रति थप जिम्मेवार बनाउन पनि माग गरिएको छ।
पछिल्लो समय विभिन्न देशहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने कदम चालिरहेका बेला भारतमा पनि यस विषयमा कानुनी बहस सुरु भएको हो।