कोहलपुर । बाराको सिमरा निवासी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै न्यायको मागसहित सोमबार कोहलपुर नगरपालिकाको आयोजनामा दीप प्रज्वलन गरिएको छ।
बालिका गरिमाको निर्मम हत्या घटनाले समाजलाई स्तब्ध बनाएको भन्दै कार्यक्रममा सहभागीहरूले दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरे। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यका निकाय अझै गम्भीर र संवेदनशील बन्नुपर्ने बताएका छन्।
दीप प्रज्वलनमार्फत गरिमाको आत्माको चिरशान्तिको कामना गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाइएको थियो। सहभागीहरूले यस्ता जघन्य अपराधका घटनामा कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक दबाब बिना निष्पक्ष अनुसन्धान गरी दोषीलाई हदैसम्मको सजाय दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘गरिमालाई न्याय देऊ’ भन्दै बालबालिकामाथि हुने हिंसा र अपराधविरुद्ध समाज एकजुट हुनुपर्ने सन्देश दिएका छन्।