३ वर्षीय बालिका गरिमा बलात्कार–हत्या प्रकरण : नाबालक आरोपीको भिडिओ भाइरल गर्नु कत्तिको जायज?

गरिमा चौधरी बलात्कार–हत्या प्रकरण: नाबालक आरोपीको भिडिओ भाइरल गर्नु कत्तिको जायज?

काठमाडौं । ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणले देश स्तब्ध बनेको छ। घटनामा संलग्न भएको आरोपमा १६ वर्षीय नाबालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

तर, अनुसन्धानकै क्रममा हतकडी लगाइएको अवस्थामा नाबालक आरोपीले दिएको भनिएको बयानको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि अर्को गम्भीर प्रश्न उठेको छ— अनुसन्धानमा रहेका नाबालकको बयान भिडिओ सार्वजनिक गरेर भाइरल बनाउनु कत्तिको जायज हो?

सामाजिक सञ्जालमा फैलिएको भिडिओमा नाबालक आरोपीले घटनाबारे बयान दिइरहेको देखिन्छ। उक्त भिडिओ कसरी बाहिरियो भन्ने विषयमा समेत प्रहरीमाथि प्रश्न उठेको छ। प्रहरीका अनुसार संवेदनशील अनुसन्धानका क्रममा यस्ता भिडिओ सार्वजनिक गर्ने अभ्यास हुँदैन।

अपराध जति नै जघन्य भए पनि दोषी ठहर गर्ने अधिकार अदालतलाई हुन्छ। अनुसन्धानकै चरणमा रहेका व्यक्तिको पहिचान, बयान वा भिडिओलाई सामाजिक सञ्जालमा ‘भाइरल कन्टेन्ट’ बनाउनु कानुनी र मानवीय दुवै दृष्टिले गम्भीर विषय हो।

विशेषगरी आरोपी नाबालक भएकाले उसको गोपनीयता र बाल अधिकारको संरक्षण अझ संवेदनशील विषय बन्न जान्छ। यस्ता सामग्रीको अनियन्त्रित प्रसारणले अनुसन्धानमा असर पार्नुका साथै नाबालकको भविष्यमा समेत गम्भीर प्रभाव पार्न सक्छ।

गरिमा चौधरीका लागि न्याय आवश्यक छ, दोषी प्रमाणित भए कानुनअनुसार कडा सजाय हुनुपर्छ। तर न्यायको नाममा संवेदनशील भिडिओलाई मनोरञ्जन वा भाइरल सामग्री बनाउनु भने न्यायको बाटो होइन।

त्यसैले प्रश्न केवल भिडिओ कसले खिच्यो वा कसले सार्वजनिक गर्‍यो भन्ने मात्र होइन, यस्ता संवेदनशील सामग्री सामाजिक सञ्जालमा फैलाउने हाम्रो प्रवृत्तिमाथि पनि गम्भीर समीक्षा आवश्यक छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार