काठमाडौं । वाई–फाई प्रविधि पछिल्ला केही वर्षमा तीव्र रूपमा विकास हुँदै आएको छ । वाई–फाई ६, ६ई हुँदै वाई–फाई ७ बजारमा विस्तार भइरहेका बेला अब यसको नयाँ पुस्ता वाई–फाई ८ (IEEE 802.11bn) को चर्चा सुरु भएको छ ।
वाई–फाई ८ अघिल्ला पुस्ताभन्दा केही फरक हुने अपेक्षा गरिएको छ । यसपटक मुख्य प्राथमिकता इन्टरनेटको गति बढाउनु नभई कनेक्सनलाई अझ स्थिर, भरपर्दो र कम लेटेन्सी भएको बनाउनु हुनेछ । विशेषगरी धेरै डिभाइस एकैपटक जोडिने घर, कार्यालय तथा भीडभाड भएका स्थानमा यसको प्रभाव बढी देखिने अपेक्षा गरिएको छ ।
वाई–फाई ८ मा सिमलेस रोमिङ, मल्टी–एक्सेस पोइन्ट कोअर्डिनेसन, लो लेटेन्सी इन्डिकेसन, इन–डिभाइस कोएक्जिस्टेन्स र एक्स्टेन्डेड लङ रेन्ज जस्ता नयाँ प्रविधि समावेश हुनेछन् । यसले एउटा राउटर वा एक्सेस पोइन्टबाट अर्कोमा जाँदा कनेक्सन टुट्ने समस्या घटाउनुका साथै भिडियो कल, अनलाइन गेमिङ र स्ट्रिमिङलाई अझ सहज बनाउन सक्छ ।
वाई–फाई ७ जस्तै वाई–फाई ८ पनि २.४, ५ र ६ गिगाहर्ज ब्यान्डमा सञ्चालन हुनेछ । यसको सैद्धान्तिक अधिकतम गति करिब ४६ जीबीपीएस रहने अपेक्षा गरिएको छ । तर यसको वास्तविक विशेषता भनेको उच्च गति भन्दा पनि कठिन अवस्थामा समेत कनेक्सनलाई स्थिर राख्नु हो ।
नेपालमा भने अहिले पनि धेरै प्रयोगकर्ता वाई–फाई ६ मै पूर्ण रूपमा पुग्न सकेका छैनन् । यस्तो अवस्थामा वाई–फाई ८ सामान्य उपभोक्ताका लागि तत्काल आवश्यक नपर्न सक्छ । तर प्रविधिको विकाससँगै नयाँ स्मार्टफोन, ल्यापटप, टिभी तथा अन्य डिभाइसमा यसको प्रयोग बढ्दै जानेछ ।
वाई–फाई ८ को आधिकारिक प्रमाणीकरण २०२८ तिर हुने अपेक्षा गरिएको छ । यद्यपि, चिप निर्माता तथा राउटर कम्पनीहरूले प्रमाणीकरणअघि नै प्रारम्भिक उपकरण बजारमा ल्याउन सक्नेछन् । सुरुका उपकरण महँगा हुने सम्भावना रहे पनि प्रविधि व्यापक बन्दै गएपछि यसको मूल्य घट्दै जानेछ ।
अर्थात्, वाई–फाई ८ को लक्ष्य ‘सबैभन्दा छिटो वाई–फाई’ भन्दा पनि ‘सबैभन्दा भरपर्दो वाई–फाई’ बनाउनेतर्फ केन्द्रित देखिन्छ ।